जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरद्धारा बजेट दुरुपयोग

उदयपुुर । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरले लक्षित वर्गको प्राथमिकताभन्दा बाहिर काम गरेर बजेटको दुरुपयोग गरेका छन् ।

स्थानीय त्रियुगा नगरपालिका १३ स्थित बरुवाखोला मुहान भइ असारी–भुसुने सिचाइ योजना मर्मतको नाममा कार्यालयले लक्षित वर्गको प्राथमिकता भन्दा बाहिर काम गरेर बजेटको दुरुपयोग गरेको हो । कार्यालयले योजनाको माथिल्लो भेगमा मर्मत आवश्यक भएपनि पानी नपुग्ने नहरको पुछारमा आरसिसि ढलानसहितको काम गर्दै आईरहेको छ ।मर्मत कार्य अति आवश्यक ठाउँमा गर्न आग्रह गर्दा कार्यालय प्रमुख देवनन्दन मण्डलले अस्विकार गर्दै पानी नै जाननसक्ने ठाउँमा काम गराईरहेको स्थानीय प्रयागराज रेग्मीले बताए । स्थानीय रेग्मीका अनुसार आम उपभोक्ताको हित विपरित सजिलो ठाउँमा काम भईरहेको छ ।

प्राय नहरको माथिल्लो विभिन्न भागमा कमजोर ठाउँ रहेको स्थानीय कृषक सिंहबहादुर राईले बताए । स्थानीय राईका अनुसार ती ठाउँहरुमा माटो र बोरा राखेर पानी ल्याउदै आएको छ । अहिले असारीको पूर्वपश्चिम राजमार्गको कालोपत्रे सडक मुनी आरसिसि ढनालसहितको काम भईरहेको छ । काम कार्यालय प्रमुख मण्डलको मनोमानीले लक्षितवर्गको ठूलो हिस्सा सरकारी बजेटबाट बन्चित हुनुपरेको स्थानीयहरु बताउँछन् ।

यस बिषयमा कार्यालय प्रमुख देवनन्दन मण्डलले तल्लो भेगको उपभोक्ताहरुबाट माग भएको कारण कोटेशनमार्फत काम गरिएको बताए । उनले तल्लो भेगको उपभोक्ताको हितमा काम गरिएको र आगामी दिनमा माथिल्लो भेगको समस्यालाई हेरिने बताए । आवश्यकता हेरेर नै काम गरिएकोले सरकारी बजेटको दुरुपयोग भन्न नमिल्ने उनको भनाई छ ।

४ लाख ८२ हजार ४ सय ९० रुपैया लगत इस्टिमेटको मर्मत कार्य कोटेशनमार्फत एक कन्स्ट्रक्सनलाई ४ लाख ८१ हजार १ सय ७१ रुपैयामा काम दिईएको छ । ५ लाख भन्दा कम बजेटको योजना कार्यालय प्रमुखले कोटेशन मार्फत काम गराउन सक्ने प्रावधान रहेको भएपनि त्यो काम लक्षित वर्गको उच्चतम हितमा हुन जरुरी छ ।

Facebook Comments