उदयपुरमा नेकपा (माओवादी केन्द्र)को कार्यालय उद्घाटन

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उदयपुरले बुधबार पार्टी कार्यालय उद्घाटन गरेको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा कायम गरिदिएपछि माओवादी केन्द्र उदयपुरले पार्टी कार्यालय सञ्चालन गरेको हो ।

सदरमुकाम गाईघाट स्थित त्रियुगा बसपार्कको सहित स्मार्क भवनमा माओवादी केन्द्रले पार्टी कार्यालय स्थापना गरेको हो । पार्टी एकताअघि माओवादी केन्द्रले गाईघाट बजारमा कार्यालय सञ्चालन गर्दै आएको थियो ।

माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको बाकुलो उपस्थितिमा संविधानसभा सदस्य तथा महिला नेतृ मणि खम्वु, पार्टी इन्चार्ज मोहन खत्री र पार्टी अध्यक्ष बिनोद कटुवाल “दिवस”ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बोर्ड राखेर कार्यालयको उद्घाटन गरेका थिए । पार्टी कार्यालय सञ्चालनमा आएसँगै अब नेकपा माओवादी केन्द्र उदयपुरको नियमित काम कारबाही सोही कार्यालयबाट सुचारु हुने पार्टी अध्यक्ष कटुवालले बताए ।

यसअघि त्रियुगा १२ स्थित मनमोहन स्मृति भवनको कार्यालयबाट नेकपाको नियमित काम कारबाही सञ्चालन हुदै आएको थियो । अदालतको फैसला पछि केहिदिनअघि नेकपा एमालेका नेता तथा कार्यकर्ताले सो कार्यालयबाट नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका थिए । सो भवनमा यसअघि नेकपा कार्यालय थियो ।

Facebook Comments