कालिकादेवीद्धारा ६ महिने सिलाई कटाई तालिम सुरु

साउने । उदयपुरमा एक सामुदायिक बन उपभोक्ता समुहले सिलाई कटाई तालिम सञ्चालन गरेको छ । सञ्चालन गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका १४ साउने स्थित कालिकादेवी सामुदायिक बन उपभोक्ता समुह रहेको छ ।

समुहले आफ्नो संस्थामा आवद्ध महिला उपभोक्ताहरु आत्मनिर्भर बन्न सकुन भन्ने उद्देश्यले ६ महिने तालिम सञ्चालन गरेको हो । तालिममा आठ जना महिला उपभोक्ताहरुले सहभागिता जनाएको समुहका अध्यक्ष दोलख मगरले बताए ।

अध्यक्ष मगरका अनुसार संस्थाले करिब दुई लाख बराबरको सिलाई कटाईको क्रममा प्रयोग हुने सामाग्री खरिद गरेको छ । त्यसैगरि सिलाई कटाई उद्घाटन कार्यक्रमसँगै समुहको आफ्नो कार्यालयसमेत सिलन्यास गरेको छ ।

टिनको छानो भएको एक कार्यालय कक्षा र एक सभाहल गरी दुई ओटा कोठा भएको भवन बन्न लागेको अध्यक्ष मगरले बताए । तालिमको उद्घाटन र भवनको सिलन्यास विहिबार एक कार्यक्रम बिच वडाअध्यक्ष कुरुङ राई र जिल्ला बन महासंघ उदयपुरका उपाध्यक्ष बदबहादुर राईले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा वडासदस्य हेमराज मगर, वडासचिब रितकुमार राई, पत्रकार महासंघ उदयपुरका सह–सचिब गजेन्द्र राई, समाजसेवी कुमार राई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments