जाल्पाचिलाउने । नेकपा (प्रचण्ड–नेपाल) समूहमा बिभिन्न दल छाडेर पार्टी प्रबेश गर्नेे क्रम बढेको छ । जिल्लाको त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउनेमा बुधबार नेपाली कांग्रेस, माक्र्सबादी र राप्रपा छाडेर ३९ जनाले प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा तत्कालीन पञ्चायतकालका साविक जाल्पाचिलाउनेमा लगातार ३५ वर्षसम्म वडाध्यक्ष, उपप्रधानपञ्च र प्रधानपञ्च भई बहुदल सुरु भएदेखि कांग्रेसमा आबद्ध बमबहादुर राईसमेत छन् ।
राईको नेतृत्वमा नेकपा प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका वडा उपसभापति लिलबहादुर राईसहित ३४, माक्र्सबादीका जिल्ला सदस्य बुद्धिबहादुर मगर र बाँकी राप्रपाका कार्यकर्ता रहेका छन् ।
नेकपा वडा कमिटी अध्यक्ष उपेन्द्र रखालमगरका अनुसार बुधबार जाँतेमा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव सुरेशकुमार राई (हिमाल), केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी र जिल्ला सचिवालय सदस्य किरण राईले अविर माला लगाउँदै स्वागत गरे थिए ।
नेकपा प्रदेश सदस्य, जिल्ला सदस्य तथा नगर कमिटीमा आबद्ध नेताहरुको उपस्थितिमा प्रवेश कार्यक्रममा नवप्रवेशीको तर्फबाट बोल्दै लिलबहादुर राई र दिलनारायण श्रेष्ठले परिवर्तित राजनीतिक अवस्थामा नेपाली कांग्रेसमा बसेर देश र समाजमा कुनै परिवर्तन आउन नसक्ने देखेर नेकपामा प्रवेश गरेको बताए ।
उनीहरुले देश र जनताको विकास र समृद्धिमा पूर्णरुपमा लाग्दै आएको नेकपा र त्यसमा आबद्ध कार्यकर्ता र जनप्रतिनिधिसँग मिलेर समाज सुधार र गाउँ विकासमा लाग्न आफुहरु नेकपामा प्रवेश गरेको बताए ।
लामो समयदेखिका पूर्व जनप्रतिनिधि बमबहादुर राईले आफु ४ दशकबढी समयदेखि कांंग्रेससमा राजनीति गर्दै आए पनि समाजलाई परिर्तन गर्ने कुरामा कहिल्यै कांग्रेस अघि बढेको नपाएको तथा सदरमुकाममा बस्दै आएका सीमित छोटे नेताहरुले गाउँको नाम गरेर पार्टी भँजाएको हुनाले निराश भएर नेकपा प्रवेश गरेको बताए ।