घर आँगनमै स्वास्थ्य शिवीर

रौतामाई । साँझ परेपछि आँखा नदेखेको धेरै भएको थियो, दिउँसै रात परे जस्तो धमिलो देखिन्थ्यो, त्यसैले बेलैमा घरका काम सकेर ओछ्यानमा पस्थे । उमेरले ९६ बर्ष पुगेका रौतामाई गाउँपालिका २ भुट्टारका भरतसिंह खड्काले भनिन्, ‘अव त उमेर र आँखा दुबैले साथ दिन छोड्यो, काम गर्न सक्न छोडे, आँखा पनि देख्दिन ।

‘तर पनि आँखाले राम्रो देख्न सके अझै काम गर्ने हिम्मत छ, उनले भने, ‘आँखा कम देख्न थालेपछि केहि गर्न नसकिदो रहेछ, त्यसैले धेरै समय घरभित्रै बसेर वित्ने गरेको छ । उनकै जस्तो समस्या छिमेकी ८९ बर्ष खड्गबहादु मगरको पनि छ । उनी पनि विगत पाँच बर्षदेखि यहीँ रोगबाट ग्रसित थिए ।
९६ बर्षको जोश जाँगरलाई जीवितै राख्न गाउँपालिकाले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा आयोजना गरेको तीन दिने निःशुल्क आँखा शिविरमा उनी लगायत ६ सय ७८ जनाले सेवा लिएका छन् । दश बर्षदेखि मोतियाबिन्दुबाट ग्रसित उनी आफ्नै घर आँगनमा मोतियाविन्दुको सफल शल्यकृय (अप्रेशन)को सेवासुबिधा पाउँदा निकै खुशी भए ।

अझ पुरानै अवश्थामा आँखाको ज्योति पाउने भएपछि उनीमा खुशीको सिमाना नै थिएन् । भने, ‘आँखा मात्र देख्न सक्ने हो भने धेरै काम गर्न सक्छु । त्यसो त उनी मात्र हैन् गाउँपालिकाका ४६ जना पुरुष र ४५ जना महिला गरी ९१ जना मोतियाविन्दुका विरामी शिविरबाट लाभान्वित भए ।

सोही अवसरमा वडा ४ का ३० बर्षिय तिलकबहादुर रायलाई पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का, उपाध्यक्ष कुमारी ठकुरी लगायतको टोलीले घरमै गएर पूर्णअशक्तताको परिचयपत्र दिए । परिचयपत्र उपलब्ध गराएसँगै उनलाई मासिक तीन हजार रुपैँया उपलब्ध गराईने पालिकाका महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाका प्रमुख बबिता परियारले बताईन् ।
पहिलोपटक आयोजना गरिएको शिविर प्रति उनीहरु निकै उत्साहित भए । ‘सहरवजार केन्द्रित उपचार सेवा गाउँघरमै आउँदा हामी धेरै खुशी छौ, उपचार गर्न आएका बृद्ध मगरले भने, ‘वल्ल सिंहदरवारको अधिकार गाउँमा आय जस्तो भयो । आर्थिक अभाव र सरकारी अस्पतालको ढिलासुस्तिकाकारण उपचार गर्न नसकेको बताउँदै उनले भने, ‘गरिवको पनि दिन आउँछन भन्थे हो रहेछ, निःशुल्क त्यो पनि घर छेउबाटै उपचार पायौँ ।

विरामी सबैको अप्रेशन सफल भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । उनले भने, ‘गाउँघरमा घुम्नेक्रममा धेरैको आँखाको समस्या छ भन्ने जानकारीमा आयो, त्यसैले आँखाका विरामीलाई नयाँ जीवन दिन गाउँपालिकाले शिविर राखेको हो । आँखा अस्पतालबाट सात जनाको संख्यामा आएको प्राविधिक टोलीले तीन दिन लगाएर स्थानीयलाई सेवा उपलब्ध गराएको हो ।
टोली प्रमुख अस्पतालका प्रबन्धनिर्देशक डा. कमल खड्काले भने, ‘पहाडी क्षेत्रमा मोतियाबिन्दु जलविन्दु, आँखाको नानीमा फुलो पर्ने र मासु पलाउने समस्या धेरै देखियो, जुन हामीले सहजरुपले उपचार गर्यौ ।

दुई जना जलविन्दु भएका विरामीको पनि सफल अप्रेशन भएको बताउँदै उनले भने, ‘कतिपय मोतियाबिन्दु भएका विरामी डाक्टरले आँखा झिकेर उपचार गर्छ भन्ने हल्लाले डराएर भागेछन्, हामीले पछि थाहा पायौ । गलत प्रचारकाकारण सेवाबाट बञ्चित भएको उनको भनाई छ । डा. खड्काले यसपटकको शिविरबाट आफु सन्तुष्टि भएको बताए ।

उनले भने, ‘दश जना र एक सय जनाको उपचार गरेपनि प्राविधिक हिसावले उत्तिकै खर्च हुन्छ, त्यसैले हाम्रो चाहाना धेरैले सेवा पाउन भन्ने हून्छ, यसपटक सोचेभन्दा बढि नै विरामी आए, यो हाम्रा लागि सन्तुष्टि हो । मेहनत, खर्च गरेअनुसार प्रतिफल राम्रो आएको उनको भनाई छ । खड्काले आँखाका समस्या भएका रिमोट एरिया हेरी अस्पतालले बार्षिकरुपमा यस्ता शिविर सञ्चालन गर्दै आएको बताए । सरकारको सानो सहयोगमा अस्पतालको लगानीमा शिविर सञ्चालन गर्दै आएको उनको भनाई छ ।
त्यसो त शिविरमा आँखा रोगीले मात्र हैन् अन्य विरामीलेसमेत उपचार पाएका छन् । पालिकाले एमविविएस डाक्टरको उपस्थितिमा तीन सय १५ जना अन्य विरामीको उपचार गरेको अध्यक्ष खड्काले बताए । यसकासाथै किसानका लागि कृषि, पशु, विउविजन, अपाङ्ग तथा जेष्ठनागरिकलाई परिचयपत्र लगायतका सेवा उपलब्ध गराएको उनले बताए । सम्बन्धित क्षेत्रको बिषय विज्ञको उपस्थितिमा जनतालाई सेवा पुर्याइएको उनको भनाई छ ।

‘किसानले पशुचौपाय पालेका छन्, खेती गरेका छन्, तर प्राविधिक ज्ञान छैन्, अध्यक्ष खड्काले भने, ‘एकैपटक धेरै ज्ञान दिन नसकेपनि सामान्य अवश्थाको बारेमा जानकारी, पहिचान, पशुको औषधि उपचार गर्न सफल भयौ । उपचार गर्न आएका विरामीका लागि पालिकाले नै यातायातको सुबिधा, खान, बस्नको व्यवस्था गरेको उपाध्यक्ष कुमारी ठकुरीले बताईन् ।

उनले भनिन्, ‘आर्थिक अभावले आफुभित्र रहेको समस्या वाहिर नल्याउने डर र उपचार गराउन नआउने हुन कि भन्ने लाग्यो त्यसैले पालिकाले नै औषधि उपचारदेखि आउने जाने र बासको व्यवस्था मिलाएको हो । शारीरिक रुपमा अशक्त, बृद्धबृद्धा र निम्न आयस्तरका भएका सर्वसाधारणलाई लक्षित गरी शिविरको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत पर्शुराम दाहालले बताए ।

आर्थिक समस्याकाकारण उनीहरु लामो समयदेखि उपचारका लागि आँखा अस्पतालसम्म पुग्न सकेका थिएनन् । कमजोर दृष्टिकाकारण घरमै कुजिएर बस्न बाध्य बृद्धबृद्धाहरुले नयाँ दृष्टि पाएकोमा खुसी व्यक्त गरेकाछन् ।

आँखा शिविरमा आउने अधिकांश बिरामीहरु निम्न आयस्तरका बृद्धबृद्धाहरु रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले बताए । शिविरमा गाउँपालिकाका ७ वटा वडाका विरामीले सेवा लिएको उनले बताए ।

Facebook Comments