उदयपुर । भवनको चरम अभाव झेलिरहेको जिल्ला अदालतमा नयाँ भवन निर्माण हुने भएको छ । कार्यकक्ष अभावका विच नेपाल वार एशोसियसनको भवनबाट कार्यसम्पादन गर्दै आएको जिल्ला अदालतमा पहिलोपटक जिल्लाकै सबैभन्दा ठुलो सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।
भ्याटसहित १३ करोड ४२ लाख ८१ हजार ९ सय २६ रुपैँया ९५ पैसाको लागतमा निर्माण हुन लागेको भवनको शनिबार उदयपुर निवासी सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतले शिलान्यास गरे । साँढे तीन तलाको स्टिमेट रहेको भवनमा जिल्लामै पहिलो पटक दुई वटा लिफ्टको व्यवस्था गरिएको छ ।
एउटा लिफ्ट कर्मचारी र अर्को लिफ्ट सेवाग्राहीलाई सहज हुने गरी व्यवस्था मिलाइएको छ । नयाँ भवन पीडितमैत्री, बालमैत्री, अपाङ्गमैत्री, थुनुवा विश्राम कक्ष र सेवाग्राहीका लागि पर्याप्त विश्राम कक्ष रहने गरी स्टिमेट बनाइएको श्रेष्तेदार धनबहादुर कार्कीले जानकारी दिए । श्रेष्तेदार कार्कीका अनुसार अपाङ्गमैत्री भवन नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवाप्रवाहमा असहज हुने र अधिकतम ध्यान दिइने छ ।
एउटै इजलासबाट सेवा प्रवाह गर्दै आएको अदालतले नयाँ भवनमा बालबालिकालाई लक्षित गरी एक बाल इजलाससहित पाँच वटा इजलास रहने गरी निर्माण सुरु गरिएको उनले बताए । तीन बर्ष भित्र २०८० जेठ ३० गते निर्माण कार्य सम्पन्न गर्ने गरी असार ९ गते सम्झौता भएको भवनको निर्माण कार्यको जिम्वेवारी सिएम÷कृष्णलक्ष्मी जेभि काठमाण्डौँले लिएको छ ।
सुरक्षाको दृष्टिकोणलेसमेत भवनका सबै ठाउँमा सिसी क्यामेरा जडान गर्ने व्यवस्था मिलाइएको श्रेष्तेदार कार्कीले बताए । अदालतको स्वामित्वमा रहको १२ कठ्ठा आठ धुर क्षेत्रफलमा भवनको पछाडी भागमा सुरक्षा व्यारेक, अगाडी सुविधायुक्त चमेनागृह, माथिल्लो तलामा मिटिङ्ग हल खानेपानी लगायत आधुनिक शौचालयको व्यवस्था हुने छ ।
भिडियोः