कृषिजन्य बस्तुले बजार नपाउदा उदयपुरको कृषक मारमा

उदयपुर । उदयपुरको ग्रामिण भेगमा उत्पादित कृषिजन्य बस्तु र जडिवुटीहरु विक्री वितरण नहुदा स्थानीय कृषकहरु मारमा परेका छन् । बिषेशगरि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको कारण स्थानीय कृषकहरु मारमा परेका हुन् ।

उनिहरु विक्री गर्ने समयमा लकडाउनको घोषणा भएपछि आफ्नो खेत तथा वारीमा लगाएका कृषिजन्य बस्तुहरु विक्री वितरण गर्न नपाएपछि मारमा परेको बताउछन् । उनिहरुका अनुसार लकडाउनको कारण तेजपत्ता, अलैँची, आलु, अदुवा, बेसार, तरकारी, दाल, आरुवखडा, आल्चा लगायतका कृषिजन्य बस्तु तथा जडिबुटीहरु घरमा थन्काउन बाध्य भएका छन् ।

पहाडी भेगमा सुन्तला पछि मुख्य आम्दानीको रुपमा तेजपत्तालाई लिईन्छ । जिल्लाको रौतामाई, उदयपुरगढी, ताप्लि र लिम्चुङ्गबुङ्ग गाउँपालिकाका किसानले तेजपत्ता व्यवसायिक खेतीकै रुपमा गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख नरनाथ रेग्मीले बताए ।

प्रमुख रेग्मीका अनुसार किसाने उत्पादन गरेका बस्तु कसरी बजारसम्म पु¥याउने भन्नेमा छलफल भईरहेको छ । अहिले विग्रन नदिनका लागि प्रशासनसँग समन्वय भईरहेको उनको भनाई छ ।

अहिले गाउँको प्रत्येक घरमा तेजपत्ताको पात टिपेर कसैले बोरामा कसैले खेतबारीमै राखिएको रौतामाई गापा ५ का कृषक सिताराम राईले बताए । कृषक राईका अनुसार यो समय पहाडी क्षेत्रमा आलु, तेजपत्ता, आल्चा, आरुवखडा, तरकारी पर्याप्त उत्पादन छन् ।

उत्पादित बस्तुहरु विक्री गर्न नपाएपछि गाउँमा आर्थिक संकटसँगै खाद्यन्न अभाव हुने सम्भावना बढेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । कतिपय किसान तेजपत्ता र आलु बिक्री गरेर नै खाद्यान्न जोहो गर्दै आएको उनको भनाई छ ।

‘मुख्य आयस्रोतको रूपमा रहेको तेजपत्ता बिक्री हुन छाडेपछि समस्या उत्पन्न भएको छ’ अध्यक्ष खड्काले भने ‘तेजपत्ताको पैसाले किनेको चामल सकिएपछि कतिपय किसानहरू खाद्यान्न अभाव हुन थालेको छ’ ।

यो समय उचित मूल्य नभए पनि गरिब परिवारको आयस्रोत बनेको तेजपत्ता, आलु बिक्री नहुँदा समस्या उत्पन्न भएको स्थानीय कृषक कमल राईले बताए । किसानले उत्पादन गरेको बस्तु सम्बन्धित निकायले खरिद गर्ने वातावरण मिलाए गाउँघरका गरिब किसान भोकै बस्नु नपर्ने उनको भनाई छ ।

चैत अन्तिमदेखि वैशाख पहिलो हप्तासम्म तेजपत्ता विक्री हुने गर्दछ । रौतामाई ५ धोद्रेमा मात्रै अहिले ४० टनभन्दा बढी तेजपत्ता संकलन गरी राखिएको वडाध्यक्ष पाण्डव राई बताए । अध्यक्ष राईका अनुसार अझै किसानको घरघरमा राखिएको तेजपत्ता धोद्रेमा आउँन बाँकी रहेको छ ।

लकडाउन लम्बिदै गएको र बर्षायाम सुरु भएको कारण ग्रामिण क्षेत्रमा सवारीसाधन नचल्ने र संकलन गरेकै ठाउँमा कुहिने डर भएको भएको स्थानीय कृषकहरु बताउँछन् । घण्टौँको बाटो हिड्नु पर्ने र अहिले बाटोपनि बर्षाले विगार्ने भएकोले तत्काल समाधान नगर्ने हो भने किसानले ठुलो क्षति व्यहोर्नु पर्ने उनीहरुको भनाई छ ।

Facebook Comments