उदयपुरमा लकडाउनबाट प्रभावित ८ हजार बालबालिकालाई खोप लगाईँदै

उदयपुर । लकडाउनसँगै प्रभावित भएको बालबालिकाको खोप कार्यक्रम उदयपुरमा सुचारु भएको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले लागु गरेको लकडाउनका कारण स्थगन रहेको नियमित खोप कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो ।

यसबाट जिल्लाका १५ महिना मुनिका करिव आठ हजार बालबालिका प्रत्यक्षरुपमा प्रभावित बनेका थिए । बालबालिकाहरु नियमित खोप लगाउनबाट बञ्चित हुँदा उनीहरुको स्वास्थ्य अधिकार नै हनन भएको गुनासो बढ्न थालेपछि सरकारले खोप कार्यक्रमलाई सञ्चालन गर्न आदेश दिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार बालबालिकाले नियमित लगाउनु पर्ने खोप कार्यक्रम सुचारु गरिएको बताए । प्रमुख सुवेदीका अनुसार खोप अवसरबाट बञ्चीत र नयाँलाई पनि समेट्दै सबैलाई खोप लगाईने छ ।

सुरक्षाका सवै विधि अपनाएर छुटेको डोज समेतलाई नियमित हुनेगरी खोप कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाई छ । शिशु जन्मेको १५ दिनभित्र बिसिजी खोप दिइन्छ । विसिजी खोप भाइरल रोगसँग लड्न सक्ने क्षमता बढाउनका लागि लगाइन्छ । हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ११ प्रकारका खोप बालबालिकालाई लगाउँदै आएको छ ।

गर्भवती आमालाईसमेत खोप लगाउँदै आएको छ । कोरोना भाइरसकाकारण ती सवै प्रकारका खोपहरु लगाउन स्थगित गरिएको थियो । मुलुकभर वर्षेनी एकवर्ष मुनिका करीब सात लाख बालबालिकाले खोप प्राप्त गर्दछन् । नेपालमा व्यवस्थितरुपमा विसं २०३५ सालदेखि खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालको खोप कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट मानिएको छ ।

खोपका कार्यक्रमका कारण दादुरा, निमोनिया, जापानीज इन्सेफ्लाइटिस जस्ता रोगहरुबाट हुने बालमृत्यु दर उल्लेख्य रुपमा नेपालमा घटेको जनस्वास्थ्य प्रमुख सुवेदीले बताए । खोप कार्यक्रमलाई सहज र सरल बनाउन जिल्ला भरमा दुई सय १० वटा खोप केन्द्र स्थापना गरिएको सुपरभाईजर निरौलाले बताए ।

उनका अनुसार कटारी नगरपालिका सहित उदयपुरगढी र ताप्लि गाउँपालिकामा प्रत्येक महिनाको १४ देखि १७ गतेसम्म र बाँकि अन्य पालिकाहरुमा ३ देखि ६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हँुदै आएको छ । यसका अतिरिक्त जिल्ला अस्पताल गाईघाटमा हप्ताको एकदिन बुधवार खोप कार्यक्रम सञ्चालन गरिदै आएको उनले बताए ।

Facebook Comments