सुनसरी । सुनसरी प्रहरीले पहिलो महिला अधिकृत पाएको छ । इनरुवामा कार्यालय स्थापना भएयता प्रहरी अधिकृतको रुपमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा पहिलो महिला अधिकृतको दरबन्दी कायम भएको हो । प्रहरी संगठनमा त्यसैपनि महिला प्रहरी कम छन् । त्यसमा पनि अधिकृत वा सो भन्दा माथिल्लो ओहदामा सीमित मात्र छन् ।
कानुन पालनाको क्रममा प्रहरीबाट महिलामैत्री व्यवहार हुन नसकेको आवाज समेत बेलाबखत उठ्ने गरेको छ । यस्तोमा सुनसरी प्रहरीले पाएको महिला अधिकृतको दरबन्दीले जिल्लाबासी महिलाहरुको सवालमा सहजताको अनुभुती गर्न पाउने सम्भावना देखाएको छ । जिप्रका सुनसरीमा रहेका यसअघिका सबै प्रहरी निरीक्षक अन्यत्र सरुवा भई गएका छन् ।
सोही क्रममा जिप्रका सुनसरी सरुवा भई आउनेमा प्रहरी अधिकृत मध्ये संचिता थापामगर समेत एक हुन् । प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी थापामगर ६ महिनाको अवधिमै प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भईन् । अध्ययनमा रुची राख्ने थापामगर सोहि कुराले आफुलाई अघि बढ्ने आधार तय गरेको बताउँछिन् ।
परिवारको साथ र पढाई प्रतिको लगनशीलताले प्रहरी सेवामा प्रवेशको छोटो अवधिमै अधिकृत तहमा नाम निकाल्न सफल बनेकी संचिता पासआउट पछिको पहिलो दरबन्दीका क्रममा सुनसरी आईपुगेकी हुन् ।
ललितपुर घर भएकी संचिताकालागि सुनसरी अनुभव पहिलो भने हैन । प्रदेशसभा निर्वाचन चुनावताका सुनसरीमा कमाण्डर रहेको अनुभव उनीसँग छ । श्रीमान समेत प्रहरी सेवामै रहेकाले समेत उनलाई परिवारको साथ र सहयोग मिलेको छ ।प्रहरी निरीक्षक संचिता थापामगर सुनसरी जिल्लामा काम गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताउँछिन् ।
भारतीय सीमावर्ति क्षेत्र, भौगोलिक अवस्था, राजनैतिक धरातल, संवेदनशीलता र अन्य विविध कारणले तराईका जिल्लामध्ये सुनसरीको नाम प्रहरी संगठनको वाचलिस्टमा अग्रस्थानमा पर्ने गर्छ । थापा भन्छिन, “सुनसरी निकै च्यालेन्जिङ छ भन्ने सुनेको छु । त्यही च्यालेन्जमा भविष्य तय हुने भएकाले चुनौति र सम्भावनाहरु बोकेर सुनसरी आएकी हुँ ”।
सुनसरीमा आएर बर्दीमा हिंड्दा आफुतर्फ हेर्ने अरुको नजर वाच गरेकी संचिताले महिला पनि इनिस्पेक्टर ! भन्ने धेरैजसोले आश्चर्यता प्रकट गरेको अनुभुति सुनाइन् । उनले सुनसरीको आफ्नो बसाईलाई सिकाईका रुपमा लिने बताइन् ।प्रहरी निरीक्षक थापामगरले जनमैत्री व्यवहारका साथ प्रहरी संगठनको मूल्य, मान्यता र सिद्धान्त बमोजिम कर्तव्य निष्ठासाथ जनसेवामा खटिने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।