उदयपुरमा डेंगु संक्रमण बढ्दो

उदयपुर ।  लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोग उदयपुरमा बढ्दो रुपमा देखापर्दै गएको छ । महिना दिनयता देखापर्दै आएको सो रोग जिल्लाको चार नगरपालिकाका स्थानीयहरुमा फेला परेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अहिलेसम्म ३२ जनामा संक्रमण देखापरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख डा. रमेश खकुरेलले बताए ।

डा. खकुरेलका अनुसार सबै भन्दा बढी कटारी नगरपालिकामा प्रभाबित पारेको छ । जसमा कटारीमा २६ जना, त्रियुगामा १ जना, चौदण्डीगढीमा १ जना र बेलाकाका ४ जना स्थानीयहरुमा डेंगु रोग फेला परेको हो । आफ्नो नगरपालिकामा डेंगु रोगको संक्रमण बढ्दै गएपछि कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ अस्पताल आएका बिरामीहरुको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

मंगलबार अस्पताल पुगेका प्रमुख श्रेष्ठले डेंगु बिरामीको उपचारमा कुनै कन्जुस्याई नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । उनले डेंगु रोगको संक्रमण बढ्दै गएपछि स्थानीय कटारी बजार सरसफाई गर्ने काम भईरहेको बताए । प्रमुख श्रेष्ठका अनुसार लामखुट्टे सहज रुपमा बस्नसक्ने फालेको गाडीको टायरभित्र जमेको पानी भएकाले त्यस्ता पानी जम्ने टायर, पानी जम्ने खाल्डो र घरमा रहेको पानी जम्ने गमलाहरु नष्ट गर्ने काम भईरहेको छ ।

त्यसैगरि नगरपालिका भित्र ठूलो मात्रामा डेंगु रोगको संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि स्थानीय सरोकारवालासँग छलफल गर्दै आएको कटारी अस्पतालका प्रमुख डा.पवन शाहले बताए । उनका अनुसार अहिले स्थानीयबासीहरुमा बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिदै आएको छ ।

अहिले डेंगु प्रभाबित अन्य नगरपालिकामा पनि डेंगु नियन्त्रणका लागि बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु भईरहेको छ । चिकित्सकका अनुसार लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर पुल्ने र पेटमा पानी जम्ने र गिजाबाट रगत आउने, शरीर दुख्ने लक्षण देखिने गर्दछ ।

भिडियोः–


Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *