उदयपुर । छैठौँ रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी क्लव विजयी भएको छ । शनिबार भएको उद्घाटन खेलमा विपक्षी न्यु स्टार क्लव सुनसरीलाई २–१ ले पछि पार्दै सशस्त्रले खाता खोलेको हो । सशस्त्रका लागि प्रविन स्यान्त्याङ्गले पहिलो र निर्णायक गोल नविन लामाले गरे ।
पहिलो हाप गोलरहित बराबरीमा टुगिंएपछि दुबै समुह आक्रमकरुपमा उत्रिए । पहिलो हापको १३ औँ मिनेटलाई सदुपयोग गर्दै सशस्त्रका स्यान्त्याङ्गलले समुहका लागि खाता खोले । लगत्तै २८ औँ मिनेटमा सुनसरीका विदेशी खेलाडी औरेल इनामेले खेललाई बराबरीमा पुर्याए । खेल बराबरीमा गएपछि निकै आक्रमक देखिएका दुबै टिमको प्रतिस्पर्धामा दर्शक विभाजित देखिए ।
आधा घरेलु दर्शकको साथ पाएको सशस्त्रका लागि ३७ औँ मिनेटमा नविन लामाले प्रहार गरेको गोल विपक्षी गोलरक्षक विवश चौधरीले समात्न नसेपछि सशस्त्रका लागि निर्णायक गोल बन्यो । तीन जना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको सुनसरीले सुरुवातीचरणमा निकै आक्रमक खेल प्रर्दशन गरेपनि पहिलो हापपछि निरन्तरता दिन सकेन् । दुबैतर्फका पोल आक्रमण खेर गए । सुनसरीका ३ नम्बर जर्सीका स्ट्राईकर विदेशी खेलाडी यानिक ओन्नालाई विपक्षी खेलाडीले छेक्न सक्नु नै जित भएको सशस्त्रका टिम कोच सुदिप श्रेष्ठले बताए ।
उनले भने, ‘सुरुवातीचरणमा हाम्रो डिफेन्समा खटपट भयो, त्यसपछि स्ट्राइकर ओन्नालाई लक्षित गरी छेक्ने योजनामा हामी सफल भयौ, यधिप ए डिभिजनको सुनसरी क्लव राम्रै ठानी मैदानमा उत्रिएका थियौ ।’ यता विपक्षी टिमका कोच सन्जिव बस्नेतले पनि ओन्नालाई छेक्न सशस्त्र सफल हुनु नै पराजयको मुख्यकारण भएको बताए । जितसँगै सशस्त्रका नविन म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रदेशनम्बर १ का सांसद सुनिताकुमारी चौधरीले नगद ७ हजार र ट्रफीले सम्मान गरिन् ।
जितसँगै सशस्त्र सेमिफाईनलमा प्रवेश गरेको छ । सेमिफाईनल खेल मोरङ्ग र नेपाल पुलिस क्लवक विजेतासँग असार ४ गते सशस्त्रले सामना गर्ने छ । प्रतियोगिताको आईतबार हुने दोस्रो खेल आयोजक उदयपुर र झापा फुटवल क्लव विच हुने आयोजक समितिका संयोजक रमाकान्त चौधरीले बताए । प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले आउँदो बर्ष उदयपुरसहित देशका ४५ जिल्लामा प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गरी खेलाडी उत्पादन गर्ने तयारी रहेको बताए ।
उनले उदयपुरमा पनि राष्ट्रिय स्तरका प्रशिक्षक उपलब्ध गराई प्रशिक्षण दिने तयारीकासाथ संघ अघि बढेको बताए । शेर्पाले भताभुङ्ग रहेको एन्फालाई दिर्घजीवी दिने काम वर्तमान टिमबाट सफल भएको बताए । नीति, आर्थिक र प्रशासनिक पारदर्शिताकासाथ अहिले एन्फा विद्यालय, प्रदेश स्तरका लिगहरु खेलाउने अभियानमा रहेको स्पष्ट पारे । असार ७ गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपिँया पाउने छ ।
प्रतियोगितामा सशस्त्र र नेपाल प्रहरीका विभागिय टिमसहित ८ वटा टिमको सहभागिता रहेको संयोजक चौधरीले जानकारी दिए । त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैडाछाप सिमेण्ट मुख्य प्रायोजनमा जिल्लाका ८ वटै स्थानीय तहको सहयोग तथा जिल्ला खेलकुद विकास समिति, उदयपुर जिल्ला फुटवल संघ र त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले व्यबस्थापकिय सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । एक लाख राशीबाट सुरु भएको प्रतियोगिता छैठौँ संस्करणमा आईपुग्दा ५ लाख पुगेको छ ।
भिडियोः–