उदयपुर । ‘उदयपुर गोल्डकप फुटबल प्रतियोगिता’ को छैटौं संस्करण जेठ ३२ गतेदेखि हुने भएको छ । गोल्डकप मूल आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिता सञ्चालन तयारीबारे जानकारी दिएको हो । उक्त गोल्डकप जेठ ३२ देखि असार ७ गतेसम्म सञ्चालन हुने छ ।
सदरमुकाम गाईघाटको थरुहट–त्रियुगा रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका राष्ट्रिय टिमहरुले सहभागिता जनाउने छन् । जसमा शसस्त्र प्रहरी बल काठमाडौं, न्यू स्टार क्लब सुनसरी, मोरङ्ग टे«निङ सेन्टर मोरङ्ग, नेपाल पुलिस क्लब काठमाडौं, झापा फुटबल क्लब झापा, गोर्खा ब्वाईज क्लब रुपन्देही, सङ्कटा क्लब काठमाडौं र घरेलु टिम उदयपुर ११ गरी ८ टिमको सहभागिता रहने मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताएका छन् ।
अध्यक्ष चोधरीका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ५ लाख रुपैया रहेको छ । त्यसैगरि उपबिजेतालाई नगद ३ लाख रुपैया रहेको छ । त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैंडा छाप सिमेन्टको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितालाई उदयपुरका ४ नगरपालिका र ४ गाउँपालिकासहित ८ वटै स्थानीय तहको सहयोग रहनेछ ।
१ नम्बर प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल (एन्फा), चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका र रौता कन्ट्रक्सनको बिशेष सहयोग रहने प्रतियोगिताको व्यवस्थापन उदयपुर जिल्ला खेलकुद बिकास समिति, उदयपुर जिल्ला फुटबल संघ, त्रियुगा नगर युवा तथा खेलकुद बिकास समितिले गर्ने छन् ।
पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल (एन्फा) प्रवक्ता तथा उदयपुर गोल्डकप फुटबल प्रतियोगिताका पुर्व अध्यक्ष किरण राईले उदयपुर गोल्डकप जिल्लाको जेठो गोल्डकप भएको भन्दै सबैको साथ सहयोगबाट विगत ७ वर्षदेखि निरन्तर सफल सञ्चालन हुँदै आएको बताए । उनले गोल्डकपकै कारण उदयपुरलाई देशबिदेशमा चिनाउन सफल भएको बताए ।
अहिले प्रतियोगिता सफल बनाउनका लागि आर्थिक, प्रचारप्रसार, सुरक्षा, मञ्च तथा फिल्ड व्यवस्थापन, अतिथि सत्कारलागयतका उपसमितिहरुको गठन गरेर आयोजक लागी परेको छ । स्वास्थ्य, अनुशासन, राष्ट्रियता र स्थानीय विकासमा खेलकुद क्षेत्रले पु¥याउने योगदानलाई गोल्डकप प्रतियोगिताहरुले थप सहयोग गर्ने गरेको समेत उनिहरुको दावी छ ।
भिडियोः–