शक्तिराष्ट्रहरुको टक्करमा नेपाली राजनीति

राजेन्द्र किराती
शक्तिराष्ट्रहरू बीचको होडबाजी विभिन्न रूप र आयामहरूमा अभिव्यक्त हुने गर्छ। यसले विश्वलाई कहिले एकल त कहिले बहुल धु्रवमा विभाजित गर्दै आएको छ। उनीहरू बीचको अन्तरविरोधहरूको पराकाष्ठामा विश्वयुद्ध लगायत विभिन्न युद्धहरू भएको उदाहरणहरू छँदैछ। यसबाट समग्र विश्व राजनीतिको मूलचरित्र साम्राज्यवादी शक्ति सङ्घर्षकै सेरोफेरोमा भएको स्पष्ट हुन्छ।

साम्राज्यवाद भनेको शक्तिको विस्तारित तथा बहुआयामिक रूप हो। राजनीतिक, आर्थिक, सामरिक र सांस्कृतिक बर्चस्वको भूमण्डलीकृत अभिव्यक्ति नै साम्राज्यवाद हो। आज एक ध्रुवीय साम्राज्यवादको स्थिति छैन, बहुध्रुवीय विश्व व्यवस्था छ। यस्तो बेला अन्तरसाम्राज्यवादी अन्तरविरोधहरू पराकाष्ठामा पुग्छ। क्षेत्रीय द्वन्द्वहरू चर्किरहन्छ। यद्यपि सारत: प्रधान अन्तरविरोध साम्राज्यवाद र उत्पीडित राष्ट्रहरू बीचमा नै हुने गर्छ। भूमण्डलीकृत विश्वमा महाशक्ति बन्ने होड केन्द्रीय सवाल हुने गर्छ। यही स्वार्थको गुरुत्वकेन्द्र वरिपरि शक्तिराष्ट्रहरूले आफ्नो रणनीतिहरू तय गर्छ।

केही दशक अघिसम्म अमेरिका र सोभियत संघबीच शीतयुद्धको स्थिति थियो। सन् १९९० मा सोभियत संघको विखण्डनपछि विश्वमा अमेरिकी एकाधिकार स्थापित भयो। तर आज परिस्थिति नितान्त फेरिएको छ। युरोप र अमेरिका केन्द्रित राजनीति आज तेस्रो विश्व केन्द्रित भएको छ। चीन र रूस अमेरिकाको नयाँ चुनौती बनेको छ। तीव्र औद्योगिक विकासपछि विश्व बजार विस्तारको लागि चीनले अपनाएको रणनीतिक कदमबाट पश्चिमाहरू आतंकित देखिन्छन्। चीनले युरोप–एसिया जोड्ने सडक मार्ग, पाकिस्तानको बलुचिस्तान हुँदै अरब सागर जोड्ने रेशमी मार्ग, एक क्षेत्र एक सडकको नीति अंगीकार गरेको छ। ऊ अर्ब, अफ्रिका र युरोपसम्म सडक तथा रेलवे लाइन विस्तारसँगै अन्तरमहादेशीय कूटनीतिक सम्बन्ध, प्रभाव र विश्व बजार बढाउने रणनीतिमा देखिन्छ।

दस वर्षमा चीनको अर्थतन्त्र सबभन्दा ठूलो हुनुको साथै महाशक्तिशाली बन्ने अमेरिकी विश्लेषण छ। सन् १८८० देखि नै अमेरिकी अर्थतन्त्र सबभन्दा ठूलो रहेको छ। चिनियाँ अर्थतन्त्र औद्योगिक उत्पादनमा आधारित छ। यसको लागि औद्योगिक मालको शान्तिपूर्ण विश्व बजार अपरिहार्य पक्ष हो। वाणिज्य तथा व्यापार प्रबद्र्धनको लागि रणनीतिक साझेदार, अन्तरदेशीय तथा अन्तरमहादेशीय सम्झौताहरू जरुरी छ। यसलाई कार्यान्वयन गर्न चीन रणनीतिक रूपमा लागिरहेको छ। यता अमेरिकी अर्थतन्त्र युद्धमा आधारित छ। उसको घरजग्गा र वित्तीय कारोबार संकटमा देखिन्छ। नियमत: यसलाई सबल बनाउन युद्ध अपरिहार्य हुन्छ। विश्वका विभिन्न क्षेत्रहरूमा युद्ध भड्किनु यसैको उपज नहोला भन्न सकिन्न। शक्तिराष्ट्ररु बीचको अन्तरविरोध युद्धोन्मुख देखिन्छ। सार्वभौमत: युद्धमा आधारित अर्थतन्त्र फस्टाउन युद्ध नै चाहिन्छ। त्यसैले चीन–अमेरिका बीचको आर्थिक टक्कर युद्धमा बद्लिने खतरा छ।

पछिल्लो समय अमेरिका–चीन सम्बन्ध चिसिँदै गएको छ। ट्रम्प प्रशासनले कति कूटनीतिक परिपक्वता देखाउला, भविष्यकै गर्भमा छ। विभिन्न बहानामा अमेरिका ‘एक्सन’मै जाने मनस्थितिमा रहेको बुझ्न कठिन छैन। यता चीन गम्भीर रूपमा ‘पर्ख र हेर’को अवस्थामा छ। चाँडै चीनलाई युद्धोन्मुख बनाउने अमेरिकी रणनीतिमा
शङ्का छ। यसको लागि चीनको तटीय क्षेत्रमा उत्तेजित गतिविधि भइरहेको छ, जुन चिनियाँ अर्थतन्त्रको मेरुदण्ड हो। जापान, फिलिपिन्स, कोरिया र ताइवानमा अमेरिकी उपस्थिति यसैको परिणाम हो। यस विरुद्ध चीनले पनि जापान, फिलिपिन्स लगायतका मुलुकहरूलाई तटस्थ राख्ने रणनीति लिएको देखिन्छ। केही महिनाअघि फिलिपिन्सका राष्ट्रपति डुतेर्तेले अमेरिकासँगको सम्बन्ध टुटाउने अभिव्यक्ति दिनु यसैको कडी हुनसक्छ।

द्वन्द्व र अस्थिरताको बहानामा शक्तिराष्ट्रहरूले आफ्नो पकड र प्रभाव विस्तार गर्ने परम्परा नयाँ होइन। यसको लागि आफूअनुकूल अतिवादी सङ्गठन र समूहहरू परिचालन गर्दै आएको तितो यथार्थ जगजाहेरै छ। विगतमा भाजपा, आरएसएस, सद्दाम हुसेन, तालिवान, अल–कायदा, मुजाहिद्दीन गुरिल्ला र इस्लामिक स्टेटहरू पनि यही प्रभुत्व विस्तारकै शृङ्खलामा जन्माइएका थिए। दक्षिण एसियामा यस्तै अर्को शृङ्खला जोडिए अन्यथा हुने छैन। ‘उपयोग गर र फाल’ पश्चिमाहरूको रणनीति हो। आजसम्म धेरै समूह र दलालहरू उसको सिकार भइसकेको विडम्बनापूर्ण इतिहास साक्षी छ।

चीनको प्राथमिक चासो पश्चिमाहरूको बढ्दो प्रभाव नै हो। तिब्बत र सिञ्ज्याङ मामिला सहायक हो। यसमा नेपालले भूराजनीतिक महत्त्व राख्छ। चीनले अन्तरदेशीय, त्रिदेशीय एवं बहुदेशीय विकासका रणनीतिक योजनाहरू ल्याउनु यसैको परिणाम हो। यही टक्करकै सिलसिला अन्तर्गत हालै पाकिस्तान र भारतबीच झन्डै युद्धसमेत भयो। तर चीनले पाकिस्तानलाई ‘ब्याक’ गरेपछि तत्काल त्यो चर्किन पाएन। टर्की, इराक, सिरिया र अफगानिस्तानमा अमेरिकी सैन्य उपस्थिति हिजो सोभियत संघ र आज चीन घेराउ गर्ने रणनीतिमा आधारित छ।

साम्राज्यवादी हस्तक्षेपका प्राय: तीनवटा मोडलहरू छन्। पहिलो, अस्थिरता र द्वन्द्व सिर्जना गरेर प्रत्यक्ष युद्धमा सहभागी हुने अफगानी मोडल। दोस्रो, संसद्मा बहुमत पुर्‍याएर संवैधानिक राष्ट्रघात गराउने सिक्किमी मोडल। तेस्रो, जनसंख्या वृद्धि गराएर चुनाववाटै पकड जमाउने फिजी मोडल। पश्चिमाहरूको रोजाइ अफगानी मोडल हो। यसका लागि अस्थिर धरातल अनिवार्य हुन्छ। द्वन्द्वबाट आफ्नो युद्ध अर्थतन्त्र विस्तार गरी चीनलाई ‘साइज’मा ल्याउनु उसको मुख्य रणनीति हो। यही स्वार्थ भोलि नेपालमा प्रकट भएमा अनौठो हुनेछैन।

यस्तै चलखेलको कारण नेपाली राजनीति अनिर्णयको चक्रव्यूहमा पँmसिरहेको छ। राजनीतिक दलहरूको दोहोरो चरित्र देखिन्छ। विदेशीहरूलाई द्वन्द्वको बहाना चाहिएको छ। द्वन्द्ववादमा अघि—पछि, दायाँ र बायाँ कहीं न कहीं समाधानको बाटो हुन्छ। तर नेपाली राजनीति निकासविहीन जस्तो सुनियोजित अवस्थामा पँmसिरहेको छ। प्रत्येक दलमा विदेशी घुसपैठ देखिन्छ। यसले दल, समूह, समुदाय र नेताहरूमात्र होइन, नेपाललाई पनि विभाजित गरिरहेको छ। कांग्रेस, एमाले, माओवादी र मधेसी दलहरू बीचको द्वन्द्व रूप पक्ष हो, शक्तिराष्ट्रहरूको अन्तरविरोध सार पक्ष हो। यो सच्चाइ नबुझी राजनीतिक विश्लेषण गर्नु अन्धाले हाती छामेबराबर हो। यसको समयमै व्यवस्थापन नगरे मुलुक अस्थिरता, प्रतिगमन हुँदै रणनीतिक खेल मैदान बन्ने टड्कारो सम्भावना छ।

सञ्चारमन्त्रीका प्रेस सल्लाहकार किराती माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *