



उदयपुर । संघियता कार्यान्वयनसँगै सहकारी डिभिजन कार्यालय उदयपुरले आफ्नो कामकार्वाही स्थानीय तहमा हस्तान्तरण गरेको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा कार्यालयले स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुको २ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरी जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई विभागको निर्देशनअनुसार सामग्री हस्तान्तरण गरेको हो । कार्यालयले सहकारी सम्बन्धि ऐन, कानुन व्यवस्था जस्ता बिषयमा स्थानीय तहका पदाधिकारी र अधिकृतहरुलाई जानकारी गराउँदै कार्यालयमा दर्ता भएका सहकारीहरु कार्यक्षेत्रअनुसार सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको कार्यालय प्रमुख जितमान जिमिले बताए ।
प्रमुख जिमिले सहकारीलाई क्रियाशिल, जनताप्रति उत्तरदायि, व्यवस्थित र जिम्वेवार बनाउने दायित्व स्थानीय सरकारको भएकाले स्थानीय तहमार्फत सञ्चालन हुने गरी सहकारीका फायल, दर्ता प्रकृया, अन्य सम्पूर्ण कामकारवाही बुझाएको बताए । जिल्लामा ३ सय २२ वटा सहकारी संस्था रहेकाछन् । त्यसमध्ये सम्बन्धित स्थानीय तहलाई कार्यक्षेत्र बनाएका २ सय ९२ वटालाई सम्बन्धित तहमा हस्तान्तरण गरिएको प्रमुख जिमिले बताए । बाँकी रहेका ३० वटा एक भन्दा बढि स्थानीय तहमा कार्यक्षेत्र बनाएकाले उनीहरुलाई प्रदेश सरकारमा बुझाउने तयारी भएको उनले बताए ।
स्थानीय तहमध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा १ सय १९ वटाले कार्यक्षेत्र बनाएकाछन् । त्यसमध्ये १ सय ६ वटा हस्तान्तरण भएभने बाँकी १३ वटा प्रदेश सरकारमा हस्तान्रण हुनेछन् । त्यसैगरी सबैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा ६ वटा रहेकाछन् । यसमा ५ वटा सम्बन्धित र १ वटा प्रदेशमा हस्तान्तरण गरिने जिमिले बताए । त्यसैगरी कटारी नगरपालिकामा ४८ मध्ये ४५ स्थानीय र ३ वटा प्रदेश, चौदण्डी नपामा ६१ मध्ये ५७ स्थानीय र ४ वटा प्रदेश र बेलका नपामा २७ मध्ये २५ स्थानीय र २ प्रदेश हस्तान्तरण गरिएको छ ।
गाउँपालिकातर्फ रौतामाई ३४ मध्ये ३० स्थानीय, ४ प्रदेश र उदयपुरगढीमा १७ मध्ये १४ स्थानीय ३ प्रदेश र ताप्लिमा १० मध्ये १० वटै स्थानीय सरकारलाई हस्तान्तरण गरिएको जिमिले बताए । हालसम्म कृषि, पशु, जनस्वास्थ्य, महिला विकास लगायतका कार्यालयहरु स्थानीय तहमा गईसकेकाछन् ।