उदयपुर । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यकासाथ आयोजना गरिएको २ महिने सिलाईकटाई तालिम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडानं ४ को आर्थिक र घरेलु तथा साना उद्योग बिकास समितिको प्राविधिक सहयोगमा दिव्य ज्योती एकल महिला कृषक समूहको आयोजनामा बगाहामा संचालित तालिम सम्पन्न भएको हो ।माघ २१ गते देखि चैत २० गते सम्म संचलित तालिमबाट विभिन्न उमेर समूहका २२ जना महिलाहरुले लुगा सिउने सीप पाएका छन । समापन समारोहमा सहभागिहरुले आधारभुत ज्ञान पाएको अझै एडभान्स सीप र औजारहरु उपलब्ध गराईदिन माग गरे ।
तालिमका सहभागि ललिता कट्टेलले सुरुमा अर्काकोमा पैसा तिरेर लुगा सिउन जानु पर्ने आफुहरु अब २५–२६ प्रकारका डिजाईनका लुगा सिउन सक्ने भएको बताईन । ‘भोटोबाट सिउन सुरु गरेको लुगा अब आफुले लगाउने सबै लुगा सिउछौ, त्यसैले अब माथिल्लो स्तरको तालिम र मेसिन सहयोग पाए हुन्थ्यो ।’ कट्टेलले भनिन् । कार्यक्रममा वडानम्बर ४ का वडाअध्यक्ष सुवास निरौलाले उद्यमी सृजना गर्ने खालको कार्यक्रम गर्न आफु प्रतिबद्ध रहेको बताए । उनले भने ‘तपाईहरुले सिकेका सिपलाई बढाउदै लानुहोस म तपाईको साथमा छु, रोजगार सृजना गर्ने कार्यक्रममा त्रियुगा नगरपालिकाले सधै साथ दिनेछ ।’
त्यसैगरी घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक शम्भुप्रसाद साहले एक घर, एक उद्यमी, एक रोजगारको नीतिले मात्र अर्थतन्त्र बलियो हुने बताए । साहले तालिम सिकेकाका सहभागिहरुलाई आफु कसरी स्वावलम्बी हुने भनेर सोच्न आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले २ महिनामा सिकेको सीपलाई व्यवहारमा उर्तान आग्रह गरे । उनले भने ‘नेपाल सरकारबाट मान्यता प्राप्त प्रमाणपत्र पाउनु भएको छ, त्यसलाई सिरानीमा थन्क्याउने कार्य नहोस ।’ कार्यक्रम दिव्य ज्योती एकल महिला कृषक समूहका अध्यक्ष सृजना पौडेल खत्रीको अध्यक्षतामा र राजु तुलाधरको संचालनमा सम्पन्न भएको थियो । तालिमको सहजिकरण कल्पना ढकाल र तारा कार्कीले गरेका थिए ।