उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आयोजना गरेको पहिलो प्रदेश महोत्सव २०७४ मा प्रशासनद्वारा निषेधित जुवाजन्य खेल तथा मानिस तर्सने खेल, तमासा, जादु र मदिराजन्य बस्तुको विक्रीवितरण भईरहेको छ । मंगलबारबाट सुरु पहिलो प्रदेश महोत्सवलाई स्थानीय प्रशासनले अनुमति प्रदान गर्दा जुवाजन्य खेल, मानिस तर्सने खेल, तमासा, जादु र मदिरा जन्यबस्तुको विक्री वितरण नगर्न स्पष्ट निर्देशन दिएपनि त्यहाँ जुवाजन्य भाग्य परिक्षणखेल, मानिस तर्सने भुतघर, जादु र मदिराजन्य टुबोर्ग र अर्ना वियरको स्टल नै राखेर विक्रीवितरण भईरहेको छ ।
प्रशासनले प्रदान गरेको अनुमती पत्रको निषेधित गर्नुपर्ने गतिविधि तर्फ बुदा नं. १ मा रकम हारजीत हुने खेल तथा जुवा र जुवाजन्य खेलहरु निषेध गरिएको, बुदा नं. २ मा मानिस तर्सने खेल, तमासा, जादु निषेध गरिएको र बुदा नं. ४ मा मदिराको कारोवार निषेध भनिएकोमा सोको आयोजकले पालना गरेको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले मेलामा सञ्चालन भएका निषेधित कुरालाई तत्कालै रोक्ने बताएका छन् ।
आयोजकलाई गर्न हुने र गर्न नहुने गतिविधि प्रष्टसंग लेखेर दिएको र त्यसको पालना नभएको पाइए तत्काल कारवाही गरिने उनले बताए । आयोजकले मेलालाई सभ्यरुपले सञ्चालन गर्न नसकेमा र उछृङ्खल गतिविधि तथा अशान्ति पैदा भए प्रशासनले मेला जुनसुकै बेला बन्द गराउने पनि बताए ।