




गजेन्द्र राई
त्रियुगा । ‘राजतन्त्रको अवशेष’को रुपमा रहेको नेपाल बाल संगठनलाई उदयपुरमा व्यक्तिगत आयस्रोतको थलो बनाइएको छ । जिल्लाको त्रियुगा नगरपालिका १० स्थित बोक्से चोकमा रहेको बाल संगठनलाई व्यक्तिगत आयस्रोतको थलो बनाउदै आएको आरोप स्थानीयले लगाएका छन् । बिभिन्न अवसरमा तत्कालीन बडामहाराज÷बडामहारानीहरुले गतिबिधि गर्ने मञ्चकारुपमा स्थापित उक्त संस्थाबारे लामो समयदेखि जनता बेखबर रहेको स्थानीय बताउँछन् ।
संगठनका अध्यक्ष समुद्रीप्रसाद चौधरी र कर्मचारी भक्तिकुमारी खत्रीले यो संस्थालाई व्यक्तिगत आयस्रोतको थलो बनाउदै आएको स्थानीयको आरोप छ । यसरी संस्थालाई व्यक्तिगत आयस्रोत बनाईरहदा पनि स्थानीय सरोकारवाला निकाय र व्यक्तिहरुको नजर भने पर्न नसकेको जनगुनासो छ । संस्थाका अध्यक्ष चौधरी र कर्मचारी खत्रीले आफु अनुकुल हुनेगरी संस्थालाई प्रयोग गर्दै आएको आरोप स्थानीयको छ । उनीहरुले संस्थाको नाममा रहेको १ बिगाह १४ कट्ठा क्षेत्रफल जग्गालाई मुख्य आयस्रोत बनाएको सरोकारवाला बताउँछन् । सडकसँग जोडिएको उक्त जग्गा भाडामा लगाएर दर्जन हाराहारी टहरा र कठ्घरा राख्न दिइएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यायल अगाडिको पक्की भवनका सटरहरु भाडामा सञ्चालित छन् ।
त्यहाँ निर्मित १ तले पक्की भवनका ५ वटा कोठा र एउटा सभाकक्षमा फोटो स्टुडियो, होटल र किराना पसल सञ्चालित छन् । सभाकक्षमा पनि होटल सञ्चालन गरिएको छ । सो भवनबाट कम्तीमा मासिक ५० हजारभन्दा बढी भाडा आम्दानी हुने रकम गुपचुप राख्ने गरिएको छ । कार्यालयको उत्तरपट्टी गाईघाट–दिक्तेल सडकसँग जोडिएको खेल मैदान र पूर्वपट्टी रहेको १ तले पक्की भवन हो । फिटको १ सय रुपैयाका दरले भाडामा दिइएको खेलमैदानछेउको जग्गामा राखिएका दर्जन बढी गुम्ती कठ्घरामा किराना पसल, होटल, तरकारी पसल र चिया पसल चलाउन भाडामा दिएको छ ।
अधिबेशन र साधारणसभा भएको अहिलेसम्म कसैले जानकारी नपाएका स्थानीयले संस्थाको आयस्रोत सार्जजनिक गर्ने नगर्ने विषयमा कुनै जानकारी नपाउने गरेको बताउँछन् । उसो त भाडा कति लिइन्छ भन्ने कुरा चौधरी र खत्रीको व्यक्तिगत तजविजीमा भर पर्ने गरेको गुनासो पनि स्थानीयको छ ।
बालमन्दिर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खड्काले बाल संगठनको भावना, मर्म र उद्देश्य अनुरुप काम नदेखिएको बताए । उनले निर्वाचनबाट आफु वडाध्यक्ष निर्वाचित भएकाले अब बाल संगठनको गतिबिधिलाई निगरानीमा राख्ने बताए । ‘त्यहाँ लाखौ रुपैया आमदानी हुने चलअचल सम्पत्ति छ’ अध्यक्ष खड्काले भने ‘तर यसको सदुपयोग भएको सुनिएको छैन । त्यहाँ हुने सबै आमदानी र खर्च संस्थागत हुनुपर्छ ।’ सुशासन, पारदर्शीता र जवाफदेहिताको कुरा गर्दा संस्थाको आमदानी व्यक्तिगत आयस्रोतको रुपमा प्रयोग हुने गरेको हो कि भन्ने जनताको आशंका रहेको भन्दै उनले त्यसो गरेको पाइए कारवाही गर्ने चेतावनीसमेत खड्काले दिएका छन् ।
बाल संगठन परिसरमै रहेको बालमन्दिर माविका प्रधानाध्यापक जेबी खड्काले बाल संगठनको औचित्य र उपयोगिताबारे केही बुभ्mन नसकेको बताए । उनले संगठनको कुनै गतिबिधि भएको कुरा थाहा नपाएको बताउँदै कुनै गतिबिधि नगर्ने बाल संगठन बालमन्दिर माविको मातहतमा राखे हुने सुझाव दिए । ‘बाल संगठन पञ्चायतकालीन संस्था हो’ प्रअ खड्काले भने ‘पञ्चायत ढलेपछि पनि केही सीमित व्यक्तिहरुले यसलाई स्थायी आयस्रोतको रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।’ अहिलेसम्म जग्गा भाडा र भवनको कोठाभाडाबाट के कति रकम उठ्छ र उठेको रकम कता खर्च हुन्छ भन्ने केही थाहा नभएको उनले बताए ।
०७० को दोस्रो संविधानसभा चुनावताका तत्कालीन अध्यक्ष नारायणबहादुर कार्की नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुपर्ने भएपछि उपाध्यक्षलाई कार्यबाहक अध्यक्ष दिदा नेतृत्व गर्न पुगेका संगठनका अध्यक्ष समुन्द्रीप्रसाद चौधरीले जग्गा भाडा र भवनको कोठा भाडाबाटै संस्था चलिरहेको बताए । बालमन्दिर विद्यालय पनि बाल संगठनकै जग्गामा रहेको बताउँदै संगठनको विषयमा विद्यालयले जे भन्यो त्यही गर्नुपर्छ भन्ने कुरा मान्य नहुने उनले बताए । उनका अनुसार बाल संगठन तत्कालीन बडामहारानी ऐश्यर्य राज्यलक्ष्मी देवी शाहले ०३९ सालमा उद्घाटन गरेकी थिईन् ।
भिडियोः