पार्टीले टिकट नदिएर हैन, आयोजनाको कामले श्रीमानको ज्यान गयोः मृतककी श्रीमती

उदयपुर– सामाजिक काममा व्यवहारिक झमेला परेपछि एक युवाले बिहिबार आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका–१६ जाल्पाचिलाउने (सिद्रे) का ३५ बर्षिय तोपनारायण श्रेष्ठले झुण्डिएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले सरस्वती सामुदायिक बनमा पैनेटीको रुखमा प्लाष्टिकको डोरीको पासो लागी आत्महत्या गरेको खबर आएको जनाएको छ ।

स्थानीयका अनुसार घटनास्थल घरदेखि पाँचसय मिटर टाढाको साउने पधेँरा जंगलमा पर्दछ । विहान गाउँ पुगेर आउछु भनेको मान्छे अबेरसम्म नआएपछि खोज्दै जाँदा झुण्डिएर प्राणत्यग भइसकेको अवस्थामा फेला परेको मृतककी श्रीमती रिता श्रेष्ठले बताइन् । राती श्रीमान्ले व्यवहारिक कुराले साह्रै टेन्सन परेको भन्दै आत्महत्याको कुरा गरेको र रातभर अनिदै बसेर, बिहान घर बाहिर गएको वस्थामा फर्किन ढिला गर्नासाथ मनमा चिसो पसेर खोज्दै जाँदा त्यस अवस्थामा फेला परेको उनले बताइन् ।

सोझो स्वभावका श्रीमान् गाउँको साना सिँचाइ आयोजनाको उपभोक्ता समितिको सचिव रहेर काम गर्दा, सामान खरिदको बील तिर्न नपुग्ने, ज्यामीको कामसमेत गरेका उपभोक्तालाई पैसा दिन नसकेको भन्दै बारम्बार पिर व्यक्त गर्ने गरेको उनले बताईन् । हप्तादिनदेखि नै राती राम्ररी नसुत्ने, राम्ररी नखाने, छटपटि, निरास भइ बस्ने गरेको उनले बताइन् ।

गाउँकै भाइभतिज पर्ने दुईजनाले ज्यामीको पैसा नदिएकोमा जुनसुकै बेला जे पनि गर्ने धम्की बारम्बार दिएर मानसिक पिडा दिएको र कर्मचारीले लाखौ कमिसन नदिए योजना नै पास नगर्ने भनेर थप मानसिक पिडामा पारेर श्रीमान् अर्धचेत, अर्धपागलको अवस्थामा पुगेको उनले बताईन् ।

उनले पटक–पटक मर्ने कुरा गरेका श्रीमान्लाई जतिसक्दो सम्झाउने कोसिस गरेपनि अन्तमा व्यवहारिक झमेलाकै कारण त्यस्तो घटना हुन पुगेको बताइन् । जीवनमै पहिलोपटक योजनाको काम गरेका श्रीमान्ले योजनाको प्रक्रिया, बजेटको प्रयोग आदिबारेमा राम्ररी ज्ञान नपाएर व्यवहार लथालिङ भएको उनले बताइन् । समितिका पदाधिकारी र गाउँलेबाट राम्रो सहयोग पाएको भए पनि व्यवहार लथालिङ्ग हुनबाट जोगिनसक्ने अवस्था रहेको उनी बताउछिन् ।

श्रीमान्ले योजना सुरु हँुदाकै अवस्थामा दाजुको चारलाख रुपैया ऋण लिएको र पहिलो किस्ताको पैसाबाट ऋण तिर्दा गाउँलेले पैसा खाएको आरोप लगाई असहयोग बढेको उनले बताइन् ।

सिंचाई योजनाकै कारण झमेलामा फसेपछि नेकपा माओवादीबाट वडा सदस्यमा पाएको टिकटसमेत श्रीमान्ले त्यगेको उनले बताइन् । श्रीमान्को मृत्युले चार सन्तान र आफ्नो जीवन विचल्निमा परेको भन्दै उनले समस्यामा श्रीमान् धुरुधुरु रोइहिड्दा, गाउँलेले मानवीयतासम्म नदेखाएको गुनासो पोखिन् ।

जेठानले, उक्सनै नसक्ने गरी व्यवहारिक झमेलामा फसेको भन्दै पटकपटक निरासा व्यक्त गरेको मृतकका ज्वाई सरोज राईले बताए । योजनाको काममा आर्थिक पाटो लथालिङ्ग भएपछि आत्महत्याको बाटो रोजेको बुझिएको स्थानीय शिक्षक कुमार राईले बताए ।
आयोजनाका अध्यक्ष नीरबहादुर राईले सचिवबाट आर्थिक पारदर्शीता नभएपछि उपभोक्ताबाट व्यापक आलोचना व्यहोर्नु परेको बताए । त्यसैको तनावमा उनले आत्महत्या गरेको बुझिएको उनले बताए । कामदारको ज्याला १३ लाख बढि रहेको तर अव योजनाबाट आउने रकम त्यसभन्दा झण्डै तीनलाख कमी रहेको उनले बताए । समितिको काम गराईमा परिपक्कता नहुदा बढि खर्च हुनुका साथै सिमेन्ट, रड जस्ता सामग्री उव्रिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *