



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ का करिब ५० वर्षीय तिलक बुढाथोकी, त्रियुगा नगरपालिकाका कर्मचारी समेत रहेको वडा नं. ११ का ३९ वर्षीय भवननाथ सिग्देल, सोही स्थानका ४० वर्षीय प्रबिन राई तथा वडा नं. ९ का ४३ वर्षीय दिपक बराल रहेका छन् ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट बगाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ करिब ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार उनीहरूलाई त्रियुगा नगरपालिका–४ डाँडाटोलस्थित ईश्वर कार्कीको गोठघरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
उनीहरूको साथबाट जुवामा प्रयोग हुने १६ वटा कौडा, नगद ५२ हजार ६ सय रुपैयाँ, ५ थान मोबाइल फोन तथा ४ थान मोटरसाइकल बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ । अहिले पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय उदयपुरबाट म्याद थप गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखिएको छ ।